“फोटो तथा चित्रकलामा तानसेन–पाल्पा” प्रदर्शनी
तानसेन गुठी, काठमाडौंद्वारा आयोजित “फोटो तथा चित्रकलामा तानसेन–पाल्पा” प्रदर्शनी भदौ ०३ देखि ०९ गतेसम्म काठमाडौंको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, बालमन्दिर नक्सालमा सुरु भएको थियो।
उक्त प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारद मणि हार्तम्छाली र तानसेन गुठीका अध्यक्ष प्रमी श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
कार्यक्रममा पूर्व कुलपति के. के. कर्माचार्य, नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्र देव भट्ट, पर्यटनविद् गोपाल सुन्दरलाल कक्षपति, तानसेन गुठीका सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, आजीवन सदस्यहरू, सहभागी कलाकार तथा फोटोग्राफरहरू, पत्रकारहरूलगायत १०० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रम बिहान ११:०० बजे सुरु भएको थियो, जसको सञ्चालन शान्ता शाक्यले गरेकी थिइन्। प्रारम्भमा पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रम संयोजक मनिष गोपाल सिंहले स्वागत मन्तव्य राख्दै प्रदर्शनीको उद्देश्यबारे प्रकाश पारेका थिए। कार्यक्रममा प्रमुख अतिथिसँगै पूर्व कुलपति के. के. कर्माचार्य, नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्र देव भट्ट, तानसेन गुठीका आजीवन सदस्य प्रा.डा. सावित्री कक्षपति तथा विज्ञ सल्लाहकार हरिवंश किरातलगायतले शुभकामना मन्तव्य राखेका थिए। अन्त्यमा गुठी अध्यक्ष प्रमी श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।
प्रदर्शनीमा समावेश सामग्रीहरू:
- ८ जना कलाकारका ४७ चित्रकलाहरू
- १२ जना फोटोग्राफरका २८ तस्बिरहरू
- विभिन्न स्रोतका ४३ पुराना तस्बिरहरू
- तानसेन–पाल्पासम्बन्धी ११ ऐतिहासिक हुलाक टिकट (Philately Collection)
सात दिनसम्म सञ्चालन भएको यस प्रदर्शनीले तानसेन–पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्पदालाई कला र फोटोग्राफीमार्फत उजागर गर्नुका साथै तानसेनलाई मध्ययुगीन शहर बजारका रूपमा ब्रान्डिङ गर्ने उद्देश्य राखेको थियो।
यसले कलाकारहरूको सिर्जनशीलता परिचित गराउँदै सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने अपेक्षा गरिएको थियो।
तानसेन गुठी काठमाडौंले सबैलाई प्रदर्शनीमा उपस्थित भई पाल्पाको कला, संस्कृति र सौन्दर्य नजिकबाट अनुभव गर्न हार्दिक निमन्त्रणा गरेको थियो।
स्थान: नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, बालमन्दिर नक्साल
मिति: भदौ ०३ देखि ०९ गतेसम्म, २०८२

