तानसेन भ्रमण गरौं,पर्यटन प्रवर्द्धन गरौ ।
नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लामा अवस्थित तानसेन नगरपालिका १३७३ मिटरको उचाइमा श्रीनगर डाँडाको काखमा रहेको ऐतिहासिक शहर हो। यो नगरपालिका नेपालका पुराना तीन नगरपालिकामध्ये एक हो र पश्चिम नेपालको सांस्कृतिक, ऐतिहासिक तथा औद्योगिक केन्द्रको रुपमा परिचित छ। तानसेन धातु तथा ढाका कपडाको उद्योगका लागि प्रसिद्ध हुनुका साथै यहाँ बसोबास गर्ने नेवार समुदायसहित विभिन्न जातजातिका सांस्कृतिक सम्पदा र विशिष्ट वास्तुकलाले भरिपूर्ण छ। इस्वी संवत् ११ औं शताब्दीदेखि सुरु भएको तानसेनमा सेन वंशले १५ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म शासन गरेको प्रमाण भेटिन्छ। अमर नारायण मन्दिर, रणउज्जीरेश्वरी भगवती मन्दिर, गणेश मन्दिर, बौद्ध विहारजस्ता धार्मिक स्थलले तानसेनलाई ऐतिहासिक तथा धार्मिक महत्वको शहर बनाएको छ।
तानसेनलाई हिल स्टेशनको रुपमा समेत चिनिन्छ, जहाँको भू–वनोट, हावापानी, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। सिध्दार्थ राजमार्गसँग जोडिएको यो शहर भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १६३ किलोमिटर उत्तर, बुटवलबाट ३९ किलोमिटर उत्तर र पोखराबाट १२३ किलोमिटर पश्चिममा पर्दछ। तानसेनले इतिहास, संस्कृति, सम्पदा र प्रकृतिको समृद्ध मिश्रण प्रस्तुत गर्छ, जसले गर्दा यसलाई काठमाडौं उपत्यकाका शहरहरूसँग तुलना गरिन्छ। यिनै विशेषताका आधारमा सन् २००८ जनवरी ३० मा युनेस्कोले तानसेनलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो। तानसेनमा पर्यटनको अपार सम्भावना रहेकाले नगरपालिकाले विशेष अवधारणा सहितको पर्यटन नीति निर्माणमा ध्यान केन्द्रित गर्नु अति आवश्यक छ।